दफा १७
संस्थानको काम, कर्तव्य तथा अधिकार
यस ऐनमा स्पष्ट व्यवस्था भए बाहेक संस्थानको काम, कर्तव्य तथा अधिकार देहायबमोजिम हुनेछः–
(१) राजगुठीमाथि संस्थानमा हक दायित्व राखी व्यवस्था तथा सञ्चालन गर्न,
(२) छुटगुठी तथा निजीगुठीलाई राजगुठीमा लिई अमानतबाट व्यवस्था र सञ्चालन गर्ने वा यस ऐनमा व्यवस्था भए बमोजिम सञ्चालन गराउने,
(३) दानपत्र लिखत परम्परा बमोजिमको धार्मिक पर्व पूजा धर्मलोप नहुने गरी चलाउने वा चलाउन लगाउने,
(४) राजगुठीको चल अचल सम्पत्ति वा त्यसबाट भएको आम्दानी हाल भैरहेको र थप कुनै धार्मिक, शैक्षिक, सामाजिक, साँस्कृतिक वा परोपकारी संस्था वा कार्यमा लगाउने,
(५) राजगुठीको आम्दानीबाट फजूल खर्च घटाई चुहावट रोकी राजगुठीलाई बढी व्यवस्थित रूपले सञ्चालन गर्न आवश्यकत आनुसार कर्मचारी र खर्चको नयाँ दरबन्दी लगत बनाउने,
(६) कुनै अनुदान, दान, दातव्य, चल अचल, सम्पत्ति, प्राप्त गर्ने,
(६क) मठ मन्दिरमा चढ्ने भेटीघाटीको व्यवस्था गर्ने,
(६ख) प्राचीन गरगहना र धार्मिक, साँस्कृतिक वस्तुहरूको लगत राखी संरक्षण गर्ने गराउने,
(६ग) कुनै गुठीको कामको निमित्त खर्च गर्नु पर्दा सकभर सोही गुठीको आयस्ताबाट खर्च गर्ने,
(७) खेती, वागवानी र पशुपालन गर्ने,
(८) राजगुठीबाट गर्नु पर्ने कुनै काम गर्न संस्थानका तर्फबाट ठेक्का दिने करार गर्ने,
(९) घर, पसल बनाई बहालमा दिने,
(१०) संस्थानका तर्फबाट चलाउनु पर्ने कुनै कानुनी कारवाई चलाउने वा संस्थान उपर चलेको कुनै कानुनी कारवाईको प्रतिरक्षा गर्ने र अदालतको फैसला बमोजिम गर्ने,
(११) राजगुठीको आयस्ता रकमबाट गुठी चलाउने, खर्च गर्ने, बाँकी रकमबाट जगेडा कोष खडा गर्ने र सो कोषबाट सुरक्षित लगानी गर्ने,
(१२) गुठी तैनाथी जग्गामा संस्थानले आफै खेती गर्न वा मोही लगाई खेती गर्न दिने,
(१३) यो ऐन र प्रचलित कानुनबमोजिम राजगुठीको व्यवस्था सञ्चालन गर्दा परिआएको अरू काम गर्ने ।